काठमाडौँ, ७ जेठ (रासस) राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिलाई आधुनिकीकरण, व्यवसायिकीकरण र यान्त्रिीकीकरणको विकास गरी आगामी पाँच वर्षमा कृषिको उत्पादकत्व दोब्बर वृद्धि गर्ने बताउनुभएको छ ।
उहाँले आज अपराह्न संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषिको उत्पातकत्व वृद्धिदर दोब्बर बनाइने छ भन्नुभयो ।
राष्ट्रपति भण्डारीले सरकारको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उर्वरजमिनलाई खण्डीकरण हुनबाट जोगाउन भूउपयोग नीति लागू गरी आगामी पाँचवर्षमा कृषिमा निर्भर जनशक्तिलाई गैरकृषि क्षेत्रमा आर्कषित गरिने जानकारी दिनुभयो ।
कृषिलाई आवश्यक पर्ने मल, बीऊ, औषधि, उपकरण कृषि तथा पशुसेवा केन्द्रमार्फत उपलव्ध गराउनुका साथै कृषकलाई माटो स्वास्थ्य प्रमाणपत्र उपलव्ध गराइने, कृषि बीमा विस्तार, कृषि तथा पशुपक्षीपालनसम्बन्धी ज्ञान र सीप प्रदान गर्न कृषि ज्ञान केन्द्रको स्थापना गरिने उहाँले बताउनुभयो ।
राष्ट्रपति भण्डारीले बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउनुपूर्व तोकिने, कृषि उपजको प्रकृतिअनुसार भण्डारणको व्यवस्था मिलाइने, उत्पादनका साधनको उपलब्धता, उत्पादन सञ्चय, बिक्री वितरण र मूल्यको अनुगमन गरिने उल्लेख गर्दै कृषिको परनिर्भरता हटाउन युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिन सरल कर्जा लगानी, साना, मझौला र ठूला सिँचाइ आयोजना निर्माण, कृषियोग्य भूमिको खण्डीकरण र अतिक्रमण रोकिने छ भन्नुभयो ।
करार, सहकारी र सामूहिक खेतीलाई प्रोत्साहन गरिने नीति सरकारले लिएको बताउँदै उहाँले भन्नुभयो, “प्रमुख कृषि उपज, पशुपक्षीजन्य तथा मत्स्य उत्पादनमा आत्मनिर्भर हुने र उच्च मूल्यका कृषि उपजको निर्यात वृद्धि गर्ने, कृषि उत्पादनको बहुउपयोग हुने गरी उत्पादन विविधिकरण र मूल्य शृङ्खला विस्तार गरी निर्यातयोग्य कृषि उपजको खेतीलाई प्रोत्साहन गरी अर्गानिक नेपाल बनाउन तत्काल अभियान शुरु गरिने छ ।”
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू