काठमाडौँ, ३ जेठ (रासस) ः यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले संविधानमा समानताको कुरा उल्लेख भए पनि अझै कार्यान्वयन नभएको बताएको छ ।
‘समलिङ्ग, द्वयलिङ्ग, तेस्रोलिङ्गी र अन्तरलिङ्गको घृणाविरुद्धको २८ औँ अन्तर्राष्ट्रिय दिवस’को अवसरमा मितेनी नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले अझै पनि महिला र पुरुषजस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई समानता नभएकाले घृणाको दृष्टिले हेर्ने गरेको बताएका छन् ।
कार्यक्रममा एकल महिला समूहकी कार्यकारी निर्देशक सुमीरा श्रेष्ठले कानून बनेपनि कार्यान्वयन नहुँदा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको समस्या समाधान नभएको बताउनुभयो ।
मितेनी नेपालीका अध्यक्ष लक्ष्मी धनानले पहिले दलितजस्तै अहिले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई व्यवहार गरिरहेको उल्लेख गर्दै समानताका कुरा संविधानमा लेखिएका भएपनि कानून नबन्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई समाजमा घृणाको दृष्टिले हेर्ने गरेको धारणा व्यक्त गर्नुभयो ।
समलिङ्गी, तेस्रोलिङ्गीलाई संगै बस्ने अधिकार दिएपनि विवाह गरेर बच्चा जन्माउने अधिकार नदिएको उहाँले गुनासो गर्नुभयो ।
युएन ओमन नेपालका प्रमुख वाइनी कुस्माले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बारेमा नकारात्मक सोचलाई परिवर्तन गर्न आवश्यक रहेको छ भन्नुभयो ।
अन्तरलिङ्गी इसान रेग्मीले शरीरले खोजेको जस्तो अधिकार आफूहरुले पाउनुपर्ने माग राख्नुभयो ।
तेस्रो लिङ्गी नीलम पौडेलले आफूहरुलाई सबैले घृणाको रुपमा नहेर्ने बताएपनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो ।
पत्रकार बविता बस्नेतले यौनिक तथा अल्पसंख्यक समुदायका बारेमा नीति परिवर्तन भए पनि समाज परिवर्तन हुन नसकेकाले अझै पनि पहिचानमा समस्या भएको बताउनुभयो ।
विश्वमा सन् १९९० देखि र नेपालमा गत वर्षदेखि यो दिवस मनाइँदै आएको छ । यसवर्ष ‘ऐक्यवद्धताका लागि सम्बन्ध’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ ।
कार्यक्रममा १० जिल्लाका ५० यौनिक तथा लैङ्गिक अल्पसंख्यकका सहभागिता थियो । नेपालमा कुल जनसंख्यको ८ देखि १० प्रतिशत यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय रहेका छन् ।
–––
तपाईंको प्रतिकृयाहरू