०२ माघ २०८१

अनुप स्मृति गोल्ड कपको उपाधि नेर्पालाई

१ जेष्ठ २०७५, मंगलवार ०९:३३ मा प्रकाशित

खोटाङ, १ जेठ (रासस) ः अनुप स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाले उचालेको छ ।

दिक्तेलस्थित माटिकोरे खेल मैदानमा भएको फाइनल खेलमा बुइपा सेवा समाज बुइपालाई टाइबे्रकरमा हराउँदै नेर्पाले गोल्ड कपको उपाधि उचालेको हो ।

निर्धारित समयमा बराबरी २–२ गोल भएपछि भएको टाइबे्रकरमा बुइपालाई ६–५ गोल अन्तरले पछि पार्दै दिक्तेलले उपाधि चुमेको निर्णायक मण्डलले जनाएको छ । प्रतियोगितामा विजेता बनेको नेर्पाले नगद रु एक लाख ५१ हजार १११ र उपविजेता बनेको बुइपा सेवा समाजले नगद रु ७५ हजार ५५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताका दुई सेमीफाइनलिस्ट भोजपुर नगरपालिका र फ्रेण्डसीप यातायात सेवालाई नगद रु २५÷२५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । २०६९ साल जेठ १ गते ट्र्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा दिक्तेल फुटबल क्लब र माउण्ट एभरेष्ट बोर्डिङ स्कूलले वैशाख २६ गतेदेखि गोल्डकपको दोस्रो संस्करणको आयोजना गरेको हो ।

प्रतियोगिता अवधिभरमा नेर्पाका सुनिल तामाङ म्यान अफ दि म्याच घोषित भएका छन् । आयोजक दिक्तेल फुटबल क्लबका वर्तमान राईले सर्वाधिक गोलकर्ता, नेर्पाका विकेश श्रेष्ठले उत्कृष्ट गोलकिपर, नेर्पाकै अर्जुन रोकाले उत्कृष्ट डिफेण्डर, बुइपाका तेज राईले उत्कृष्ट स्ट्राइकर र बुइपाका सुजल श्रेष्ठले उत्कृष्ट मिडफिल्डर, आयोजक डिएफसीले अनुशासित टोली र नेर्पाका शरद राईले उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन् ।

उनीहरुलाई जनही रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिएको प्रतियोगिताका संयोजक एवं माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका प्रिन्सिपल सागर जोशीले बताउनुभयो । विजेता टोलीलाई प्रदेशसभाका सांसद रामकुमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राईलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter