काठमाडौँ, २६ वैशाख (रासस) ः कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले कानुन क्षेत्रमा जनशक्ति अभाव भएको बताउनुभएको छ ।
कानुन दिवसका अवसरमा ल्यानकाउ नेपालले आज यहाँ आयोजना गरेको ‘सामाजिक न्यायको लागि कानुन सहायक तथा सरोकारवालासँगको छलफल’मा उहाँले गाउँगाउँमा कानुन स्वयम्सेवक खटाउनुपर्ने हुँदा जनशक्तिको अभाव रहेको बताउनुभएको हो । “कानुनको ज्ञान विद्यालय क्षेत्रबाट दिन आवश्यक छ,”– उहाँले भन्नुभयो ।
मन्त्री तामाङले अदालतमा काम गर्ने सहयोगी कर्मचारीको समेत अभाव रहेको भन्दै कानुन सहायकका लागि ऐन नै बनाएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । नेपालभर १९ उच्च माध्यामिक तहले प्लस टुमा कानुन पढाउन स्वीकृत लिएको भन्दै अब कानुन सहायक पाउन सहज हुने उहाँको भनाइ थियो ।
नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले नेपालमा १७ हजार कानुन व्यवसायी भएपनि पर्याप्त नभएको भन्दै काुनन सहायकका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो ।
उहाँले हरेक गाउँमा कानुन सहायक आवश्यक रहेको भन्दै कानुन सहायक राख्न बार एशोसियशनले ल्यानकाउ नेपाललसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले वकीलको काम अदालतमा बहस गर्ने र कानुन सहायकको काम कानुनसम्बन्धी आवश्यक परामर्श तथा कागजात तयार गर्ने भएकाले सरकारले कानुन सहायकलाई वैधानिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
ल्यानकाउ नेपालका कार्यकारी निर्देशक आकाश बागचनले मुलुकको कतिपय स्थानमा अझैपनि जनताले न्याय पाउन नसकेको बताउँदै न्याय नपाएका सुदूरपश्चिमका नौ जिल्लामा ल्यानकाउ नेपालले कानुन सहायकका रुपमा दलित वस्तीमा काम गरिरहेको बताउनुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू