सुरुङगा, झापा, १८ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा चारवटा सडक र एउटा पुलको शिलान्यास गर्नुभएको छ ।
रु ७७ करोड १५ लाख ५८ हजारको लागतमा निर्माण हुन लागेका चार सडक र २३ करोड ६९ लाखको लागतमा विरिङ खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्नुभएको हो ।
ग्रामीण सडक सञ्जाल आयोजनाअन्तर्गत चारपाने–चैतुवारी–मतीगढा–साँघुटार–घोडामारी–राजगढ सडकको शिलान्यास भएको छ ।
चारपाने चोकबाट शुरु विन्दु भएर राजगढ बजारसम्मको सडक स्तरोन्नति कार्यको प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । सडकको लम्बाई १५ दशमलब ६ किलोमिटर रहेको छ । सो सडकले हुलाकी राजमार्ग छोएको छ । सडक निर्माणका लागि एशियाली विकास बैंकको ८० प्रतिशत लगानी र नेपाल सरकारको २० प्रतिशत लगानी गरी रु १८ करोड ५७ लाख ९० हजार ४५६ मा निर्माण हुँदैछ ।
सडक निर्माणसँगै राजमार्ग दक्षिणका ५८ हजार ७६५ जनसंख्या प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।
गुणस्तरीय सर्वायाम सडक सञ्जालको विकास गरी दुई वा दुईभन्दा बढी ग्रामीण वस्तीहरू आर्थिक, सामाजिक केन्द्रहरू वा कृषि क्षेत्रहरू बजारबीच पहुँच अभिवृद्धि गर्न सडक निर्माण कार्य शुरु गरिएको बताइएको छ ।
पूर्वाधार विकासमा संलग्न निकायको क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विकास (डोलिडार)अन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार योजना कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंकबीच सम्झौताबमोजिम सो सडकको स्तरोन्नति कार्य शुरु भएको छ ।
विसं २०८० वैशाखसम्ममा काम सक्ने गरी सडकको स्तरोन्नति कार्यको शिलान्यास भएको छ । कालोपत्रेस्तरमा सडकको स्तरोन्नति तथा कार्य सम्पादनमा आधारित मर्मत गर्ने आयोजनाको मुख्य काम रहने बताइएको छ ।
यसैगरी खर्साङवारी–जलथल–अधिकारी चोक सडक खण्डको शिलान्यास भएको छ । सो सडकको लम्बाई ६ दशमलब ५ किलोमिटर रहेको छ ।
यता आमलडाँगी–समयगढ–सोलमारी सडक ११ दशमलब ५ किलोमिटर र पाडाजुंगी–झर्का–चप्रामारी–खजुरगाछी १० किलोमिटर गरी जम्मा ४३ दशमलब ५ किलोमिटर सडकखण्डलाई कालोपत्रेस्तरमा स्तरोन्नति गरिने भएको छ ।
पाडाजुंगी–झर्का–बालुवथान–चप्रपामारी–खजुरगाछी सडक आयोजनाको लागत २० करोड ७३ लाख ८३ हजार ९१० रहेको बताइएको छ । यो आयोजना समेत २०८० साल वैशाखमा सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको छ ।
यता कनकाई नगरपालिकाको लक्ष्मीपुर–साधुटार सडकखण्डको उद्घाटन गरिएको छ । रु नौ करोड ८० लाख ६५ हजार ६४९ को लागतमा निर्माण गरिएको सडकले चुरे राजमार्ग छुने बताइएको छ ।
योसँगै प्रधानमन्त्री ओलीले आजै अर्जुनधारा नगरपालिका भएर बग्ने विरीङ खोलामा पक्की पुलको पनि शिलान्यास गर्नुभयो ।
विभिन्न विकास निर्माणको शिलान्यास र उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले झापा धान ‘सुपरजोन’को जिल्ला मात्र नभई हरेक कृषि क्षेत्रलाई ‘सुपरजोन’ बनाउन सकिने बताउनुभयो ।
उहाँले गाउँ, वस्ती र शहरका गुरुयोजना तयार गरेर कृषि तथा औद्योगिक क्षेत्रमा काम गर्न जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।
प्रधानमन्त्री ओलीले अब व्यवस्थित वस्ती र शहर बनाउनुपर्ने भन्दै सुकुम्बासीको नाममा जहाँ पायो त्यहाँ छाप्रो हाल्न नपाइने बताउनुभयो । उहाँले सबै मानिस गरिखाने बाटोतिर लाग्नुपर्ने भन्दै त्यसको व्यवस्था सरकारले गर्ने बताउनुभयो ।
अस्पताल, शिक्षालय, बजार, मनोरञ्जन स्थललगायत एकै ठाउँमा भएका व्यवस्थित शहर निर्माण गर्नुपर्ने अबको योजना भएकाले निर्वाचित जनप्रतिनिधिलाई त्यसतर्फ ध्यान केन्द्रित गर्न उहाँको सुझाव थियो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू