काठमाडौं
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सोमबारबाट चीनको भ्रमण गर्ने भएका छन् । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा ज्ञवाली चीन जान लागेका हुन् । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि नेपालबाट चीनमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । ज्ञवालीको सो भ्रमणलाई प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका रूपमा हेरिएको छ । ओलीले भर्खरै भारतको तीनदिने राजकीय भ्रमण गरेका थिए ।परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा मन्त्री ज्ञवाली ३ वैशाखदेखि पाँचदिने चीन भ्रमणमा जाने उल्लेख गरिएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले चीनका विदेशमन्त्री यीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
ज्ञवालीको भ्रमणलाई प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका रुपमा हेरिएको छ
प्रधानमन्त्री ओलीले दुवै छिमेकी मुलुकसँग सम्बन्ध सुदृढ गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने सरकारको उद्देश्य पूरा गर्न छिमेकी मुलुकसँग पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढ्न खोजेको बताइरहेको सन्दर्भमा परराष्ट्रमन्त्रीको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । परराष्ट्रमन्त्रीको चीन भ्रमणको क्रममा समकक्षी वाङ यीसँग ५ वैशाखमा द्विपक्षीय भेटवार्ता हुने उल्लेख छ । द्विपक्षीय वार्तालगत्तै दुवै मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । ज्ञवालीले भ्रमणका क्रममा उच्च चिनियाँ अधिकारीलाई भेट्नुका साथै चिनियाँ थिंक ट्यांकको गोलमेच बैठकलाई सम्बोधन गर्नेछन् । यस्तै, बेइजिङमा भेटवार्तापछि मन्त्री ज्ञवाली सिचुवान प्रदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
उनको भम्रणका क्रममा चीनका राष्ट्रपति सी जिङ पिङको नेपाल भ्रमणका विषयमा समेत छलफल हुने बताइएको छ । राष्ट्रपति सीको नेपाल भ्रमणको विषयमा पटक पटक मिति तय भएर स्थगित भएको थियो । यसपटक उनको नेपाल भ्रमण सम्भव गराउने तयारी हुने बताइएको छ । ज्ञवालीले औपचारिक रूपमा उनलाई निम्तो गर्ने बताइएको छ ।
साभार: राजधानी डेली
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू