कैलाली, १५ चैत (रासस) ः प्रदेश नं ७ को आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन सुदूरपश्चिमाञ्चल साहित्य समाजको अगुवाईमा आज धनगढीवाट देश दर्शन अभियान शुरु गरिएको छ ।
सात नम्बर प्रदेशमा रहेका धार्मिक, संस्कृतिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै पर्यटन प्रबद्र्धनमा योगदान पुर्याउन सो अभियान शुरु गरिएको हो ।
महेन्द्रनगर, नेपालगञ्ज, चितवन, पोखरा, काठमाडौं, जनकपुर, बिराटनगर, झापा लगायतका क्षेत्र हुँदै भारतको गुवाहाटी आसाम, तेजपुर, सिक्किम, र दार्जिलिङ पुग्न लागेको सो अभियानमा सहभागी सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताउनुभयो ।
अभियान आगामी बैशाख १ गते धनगढी पुगेर समापन हुने जनाएको छ ।
अभियानका क्रममा सात नम्बर प्रदेशको लोकसंस्कृतिमा आधारित चर्चित हुड्केली नाच, गौरा, छलिया, भुवो, सखिया नाच, होली नृत्य, डेउडा लगायतका संस्कृति झल्किने कार्यक्रम प्रस्तुत गरिने छ ।
‘साहित्यिक सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान२०७४‘ नाम दिइएको यो अभियानमा साहित्यकार, कलाकार र पत्रकार समेत सहभागी छन् ।
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आज सो अभियानको शुभारम्भ गर्नुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू